धनुषामा क्रसर डनले खनेको खाल्डोमा डुबेर फेरि एक बालकको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।
एकसाता नबित्दै धनुषामा अवैध रुपले ग्राइभेल उत्खनन गरेको खाल्डोमा डुबेर एक फेरि एक बालकको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका ६ स्थित जग्धर खोलाको किनारमा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर सर्लाही नरेश खोइर बस्ने शिवु महतोको १२ वर्षीय छोरा सुमन महतोको सोमबार बिहान ज्यान गएको हो ।
दुई महिनादेखि मिथिला नगरपालिका ४ पुस्पलपुर स्थित हजुरबुबा राम उदगारको घरम बस्दै आएका बालक समुन साथीहरुसंग बिहान पौडी खेल्न गएको बेला डुबेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।
क्रसर माफियाहरुल्े गहिरोसम्म ग्राइभेल झिकेकाले त्यसमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।
गएको साउन २२ गते मात्र मिथिला नगरपालिका १ स्थित बसही खोलामा क्रसर डनले खनेको गहिरो खाल्डोमा डुबेर वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको मृत्यु भएको थियो ।
मिथिला नगरपालिका लगायत यस क्षेत्रका अधिकांश खोलामा अवैध रुपले खनेको ग्राइभेलको खाल्डोमा वर्षा याममा पानी जम्दा जनधनको क्षति हुने गरेको छ ।
Sponsored