TodayPati

पाकिस्तानबाट भारत आएका एकै परिवारका ११ जनाको शव खेतमा फेला

एजेन्सी-

राजस्थान, साउन २६ गते ।

भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Sponsored

परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

आइतबार ११ जनाको शव खेतमा भेटिएपछि प्रहरी त्यहाँ पुगेको थियो । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए ।

३७ वर्षका केवल राम मात्रै जीवित रहेका छन् । प्रहरीले केवल रामसँग सोधपुछ गरिरहेको छ । केवल रामका आमाबुवा, एक भाइ, तीन बहिनी पनि मृत्यु भएको छ ।

Sponsored

यस्तै केवल रामकी एक छोरी र दुई छोरा तथा परिवारका प्रमुख ७५ वर्षका बुधा रामको पनि मृत्यु भएको छ । घर भन्दा पर गएर सुतेका कारण केवल राम जीवित रहन सफल भएको प्रारम्भिक जानकारी छ ।

मृत्युको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो हिन्दू परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *