वीरगञ्जका ज्यानमारा अस्पतालविरुद्ध प्रदर्शन
टुडेपाटी-
वीरगञ्ज, साउन २५ गते ।
वीरगञ्जमा अस्पतालहरुले उपचार गर्न नमानेपछि ज्यान गुमाएको अस्पतालविरुद्ध स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
स्थानीयहरुले आइतबार नारायणी अस्पताल अगाडि प्रशासन विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले वीरगञ्जका अस्पतालहरु ज्यानमारा भएको आरोप लगाएका छन् ।
उनीहरुले अस्पतालहरु पैसा कमाउनको लागि मात्रै खोलिएको भन्दै महामारीको बेलामा आम जनतालाई सेवा दिनु पर्नेमा उल्टै बिरामीलाई भर्ना नै नगरेर फर्काइ दिने गरेकोले यस्ता अस्पताललाई कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।
अस्पतालको लापार्वाहीका कारणले नै वीरगञ्ज छपर्कैयाका २० वर्षकी युवतीले उपचारको अभावमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले यस्तो अस्पताललाई कारवाही गर्न माग गरेका थिए ।
नारायणी अस्पतालको अगाडि जम्मा भएका स्थानीयहरुले प्रदर्शन गर्न लागेपछि पुगेको प्रहरीले उनीहरुलाई रोकेको थियो । वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या लागातार रुपमा बढ्दै गएपछि यहाँका अस्पतालहरुले बिरामी भर्ना गर्न तथा उनीहरुको चेकजाँच गर्न समेत छोडेका छन् ।
Sponsored
उनीहरुले बिरामीलाई उपचार गर्नुको साटो गेटबाटै फर्काइ दिने गरेका छन् । जसका कारण वीरगञ्जका आम सर्वसाधारणहरुले उपचार सेवा नपाई अकालमै ज्यान गुमाउँदै आएका छन् ।
हालसम्म वीरगञ्जमा उपचार नपाएर तीनजनाले ज्यान गुमाउनु परेको छ । पैसा हुनेहरुले हेलिकप्टर चार्टड गरेर काठमाडौँ गएर उपचार गराइरहेका छन् । तर पैसा नहुने मध्यम वर्गीय तथा गरिब जनताहरु उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।
जिल्ला प्रशासनले पर्साका सबै अस्पतालहरुलाई बिरामी भर्ना गर्न र छुटै आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको भए पनि त्यो हालसम्म कार्यान्वयन हुन सकेको छैन ।