वीरगञ्जमा उपचार नपाएर दम तोडेकी युवतीमा कोरोना पुष्टि
टुडेपाटी-
वीरगन्ज, साउन २५ गते ।
शुक्रबार राति वीरगन्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिका २ ब्स्ने २० वर्षीया युवतीको मृत्युपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
परिवारले उनलाई शुक्रबार राति उपचारका लागि वीरगन्जका विभिन्न अस्पताल लगेका थिए । तर, नेशनल मेडिकल कलेज, तराई हस्पिटल, नारायणी बयोधा हस्पिटल, नारायणी अस्पताल, एडभान्स लगायत आधा दर्जन अस्पतालले भर्ना लिन मानेनन् ।
अन्तिममा कोभिड अस्पताल गण्डक लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । योसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
Sponsored
वीरगन्जका अस्पतालहरुले कोरोनाको आशंकामा बिरामी लिन नमान्दा बिरामीहरुले दुःख पाउने क्रम बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिए पनि निजी अस्पतालले प्रशासनको निर्देशनलाई धज्जी उडाएको पाइएको छ ।
थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
त्यसैगरी पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १५ जना महिला छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले बताएका छन् ।