गौशाला नगरपालिकामा एक हप्ताको लागि लकडाउन
टुडेपाटी-
महोत्तरी, साउन २४ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
शनिबार नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा आइतबार राती ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजेरातीसम्म लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।
नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिने जोखिम बढेपछि अति आवश्यक औषधि पसल र स्वास्थ्य चौकी बाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारीसाधन बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउन अवधिभित्र बाहिरी आउजाउको चक्र बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पीसीआर प्रविधीबाट कोरोना परीक्षण गरिने नगर प्रमुख महतोले बताए ।
यसभन्दा पहिले महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, महोत्तरी गाउँपालिका, सम्सी गाउँपालिका बन्द गरिएको छ ।
Sponsored