TodayPati

छुटेपछि फेरी पक्राउ परेका दिलीपका ३ हत्या आरोपीको रिट उच्च अदालतद्वारा खारेज

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन ६ गते ।

ओम प्रकाश भनिने दिलीप महतोका तीन हत्या आरोपीले उच्च अदालत जनकपुरमा प्रहरी विरुद्ध दिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषालाई विपक्षी बनाई दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सोमबार उच्च अदालत जनकपुरका न्यायधीश बालकृष्ण उप्रेती र उज्जवल शुक्लको संयुक्त इजलासले खारेज गर्ने फैसला गरेको हो ।

जिल्ला अदालत धनुषाले गएको बुधबार २५ र २५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गरेको दिलीपका हत्या आरोपी रोशन यादव, क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई तत्कालै प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको थियो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय धनुषालेसार्वजनिक शान्ति सुरक्षाको कसुरअन्तर्गत पुनः तीनैजनालाई पक्राउ गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

अबैध खोला उत्खनन रोक्न गएको बेला गत पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई घरनजिकैको औरही खोलामा टिपरले किचेर हत्या गरिएको थियो । दिलीपको हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक विपिन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो र लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । यस्तै अन्य तीनजनालाई २५–२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेश लगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनलाई प्रहरीले केहि समयमै अदालत परिसरबाटै फेरी पक्राउ गरेको थियो ।

Sponsored

पक्राउ गरेको विरुद्ध धनुषा प्रहरीमाथि तैनैजना आरोपीका आफन्तले गएको शुक्रबार उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो । रोशनको तर्फबाट विजय कुमार यादव, सत्यनारायणको तर्फबाट रिनाकुमारी महतो र शत्रुधनको तर्फबाट सीतादेवी महतोले जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । त्यसै रिटमाथि सोमबार सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला उच्च अदालत जनकपुरले गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *