सिरहामा राहत वितरणमा पक्षपात गरेको भन्दै दुई समूहबीच झडप, दर्जन बढी घाइते
टुडेपाटी-
सिरहा, जेठ ९ गते ।
सिरहामा राहत वितरणको विषयमा झडप हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
प्रहरीका अनुसार सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा वडाध्यक्षले राहत वितरणमा पक्षपात गरेको भन्दै वडा कार्यालय पुगेका एक समूहमाथि अर्को समूहले आक्रमण गर्दा झडप भएको छ ।
वडाध्यक्ष पक्षधर र राहत नपाउने पक्षबीच झडप भएको सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
वडा कार्यालयले राहत वितरणका लागि ७ सय ४१ जनाको विवरण संकलन गरे पनि ५ सय १७ लाई मात्र वितरण गरेपछि राहत नपाउने पक्ष वडा कार्यालयमा आएको थियो । ‘त्यही क्रममा विवाद हुँदा अर्को पक्ष आएपछि दोहोरो झडप भएको हो ।’, उनले भने
Sponsored
झडपमा परी घाइते भएकामध्ये बढी चोट लागेका ५५ वर्षीय अख्तर मण्डलसहित चार जनालाई उपचारका लागि विराटनगर पठाइएको एसपी चतुर्वेदीले बताए । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा चिर्पट, इँट्टासमेत प्रहार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
उक्त वडाका अध्यक्ष अशोक साहले तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीय राहत वितरणको विषयमा छलफल गर्न वडा कार्यालय पुगेका बेला वडाध्यक्षसँग भनाभन भएपछि विवादले उग्र रुप लिएको प्रहरीको भनाइ छ ।
फाइल तस्बिर