लकडाउनका कारण मिथिलाञ्चलका महिलाहरु घरमै वट सावित्री पर्व मनाउँदै
टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।
पति दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वट सावित्री पर्व मनाउँदै छन् । जनकपुर लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै वट सावित्री पर्व मनाइरहेका छन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण प्रहरीले यसपटक घरमै वट सावित्री पर्व मनाउन आग्रह गरेको छ ।
महिलाहरुले लकडाउनको कारण घर नजिककैको वरको रुख अथाव घरमै सानो वरको बोट वा हाँगा ल्याएर पूर्जाअर्चना गर्दै वटसावित्री पर्व मनाइरहेका छन् । अघिल्ला वर्षहरुमा यस दिनमा वरको रुखमूनि व्रतालु महिलाहरुको घुँइचो लाग्ने गरेको थियो ।
यो पर्वमा आँप, लिची, नरिवल, सिँदुर, चना, दही, चुरा, बेना (बाँसको पंखा) रातो पहेलो धागो, पान, सुपारी लगायतको पूजा सामग्री सामग्री चढाइन्छ ।
वट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने, पति लगायत घरका सदस्यहरुको आयु बढ्ने विश्वाससहितको परम्पारा रहेकाले निरन्तर ७ वर्षदेखि यो पर्व मनाउँदै आएको जनकपुरधाम उपमहानगरपालिका ४ आनन्दनगरकी स्थानीय बासिन्दा समेत रहेकी जनकपुरकी पत्रकार मनिका झाले बताइन् । ‘वैज्ञानिक दृष्टिकोणले वरको रुख धेरै लामोसमयसम्म बाँच्छ । र अर्को धार्मिक किम्वदन्ती अनुसार हाम्रो समाजमा वरलाई पूजाअर्चना संकृति एवं परम्परा पौराणिककालदेखि रहि आएको छ । त्यसैले वरको रुखको पूजा गर्दा पति लगायत घरका सदस्यहरु खुसीहुने, सबैको आयु बढ्ने विश्वाससहित वट सावित्री पर्व मनाउँदै आएकी छु ।’ उनले भनिन् ।
धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको वास हुने भएकोले वरको रुखको पुजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री साबित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।
Sponsored
केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँद अएकोमा अहिले अन्य समुदायका महिलाहरु पनि मनाउँने गर्दछन् । नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ । तर यसवर्ष लकडाउनको कारण माइतबाट पूजा सामग्री नआउादा आफैले जोरजाम गरेर महिलाहरुले वट सावित्री पर्व मनाइरहेका छन् ।
अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पुजा गर्ने चलन बसेको बुद्धिजिवीहरुको भनाई छ ।