मधेश प्रदेशः प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न समिति गठन
टुडेपाटी–
जनकपुरधाम, असार २७ गते ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ ।
प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको उनले बताए ।
जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।
गत सोमबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।
Sponsored
पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले भने मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको दाबी गरेका छन् ।