मधेश प्रदेश : विद्युत् ट्रान्सफर्मर चोर्ने गिरोह पक्राउ
टुडेपाटी–
रौतहट, असार १८ गते ।
प्रहरीले रौतहटको विभिन्न स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ।
जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नं. ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भासेढवाका ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका ३६ वर्षीय वीरेन्द्र राय यादव, ३७ वर्षीय सुखल महतो रहेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताएका छन्।
प्रहरीले उनीहरूको साथबाट एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ।
आरोपीहरूको बयानको आधारमा गरुडा ४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाडी पसलमा प्रहरीले आइतबार छापा मारेको थियो। त्यसक्रममा विद्युत् ट्रान्सफर्मर्मरमा प्रयोग हुने तामाको तार लगायतको सामग्री ठुलो मात्रामा बरामद गरेको छ।
Sponsored
तामाको तारको चुडी १५ थान, तामाको कवायल रोल १५ थान, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्स्पेक्टर साहले बताएका छन्। कवाड पसल सञ्चालक चौधरी भने फरार रहेका उनले जानकारी दिएका छन्।