तीनजनालाई छोराछोरी बनाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ
टुडेपाटी–
बुटवल, असार १८ गते ।
अर्कैजनालाई छोरा–छोरी भनी नागरिकता दिलाउन खोजेको आरोपमा बुटवलमा श्रीमान र श्रीमती पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी श्रीमती ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनीहरुसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ ।
आइतबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
Sponsored
नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ ।