TodayPati

आरती साहको पति र ससुरालाई थुनामा पठाउने धनुषा जिल्ला अदालतको आदेश

टुडेपाटी–
जनकपुरधाम, असार ५ गते ।

जिल्ला अदालत धनुषाले आरती साह प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Sponsored

गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै किटानी जाहेरी परेको थियो ।

त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको भन्दै प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो ।

Sponsored

गत असार १ गते दर्ता भएको उक्त मुद्दामा असार ३ गतेदेखि लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो ।

मंगलबार खाजा समयअघि बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *