धनुषा र महोत्तरीका विपन्न घरपरिवारलाई नि:शुल्क विद्युत मिटर वितरण
टुडेपाटी-
काठमाडौं, जेठ २८ गते ।
पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई नेपाल विद्युत प्राधिकरणले निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।
प्राधिकरणले मधेश प्रदेशको महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो ।
मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई प्राधिकरणले निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गर्दै आएको छ ।
विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।
प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।
Sponsored
गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमश ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो ।
मधेश प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या २ लाख रहेको छ ।