७ वर्ष जेल बसेपछि अदालतबाट निर्दोष सावित
टुडेपाटी–
काठमाडौँ, जेठ ४ गते ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना सात वर्षपछि अदालतबाट निर्दोष सावित भएको छ ।
टीकापुर घटनामा सन्तकुमार चौधरी २०७३ वैशाखमा पक्राउ परेका थिए ।
उनलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएका थिए । तर सर्वोच्च अदालतले भने मंगलबार निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
बुधबार सन्तकुमार कैलाली कारागारबाट छुटेका छन् ।
सर्वोच्च अदालतले मंगलबार थुनामुक्त गर्न दिएको आदेशमा सन्तकुमार चौधरीको नाम भने छैन ।
Sponsored
सर्वोच्चले ‘विद्रोह’ भनिने सीताराम चौधरीलाई थुनामुक्त गर्न भनेको थियो । तर, बुधबार छुटे सन्तकुमार । सन्तकुमारको नाम अदालती कागजातमा टीकापुर घटनामा अभियोजन गरिएका ५८ जनामध्ये फरार रहेका ३१ जनाको सूचीमा छ ।
उनी फरार रहेको भनेर जिल्ला अदालत कैलालीमा उनको मुद्दा मुल्तबीमा छ, तर सन्तकुमार जिल्ला र उच्चको फैसलालाई सर्वोच्चले उल्ट्याइदिएपछि सात वर्षको बन्दी जीवनपछि थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ भने अहिले आएको छैन् ।