बटेश्वर गाउँपालिका : कसैलाई फर्जी हाजिरी गरेर, त कसैलाई महिनौंदेखि बसाएर तलब
टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।
बुधबार दिउँसो १ बजे धनुषाको बटेश्वर गाउँपालिका कार्यालय परिसरमा पुग्दा अध्यक्ष रामअशिष महतो कुर्चीमा बसेर केही कर्मचारीसित गफिँदै थिए । परिसरको देब्रे छेउमै ६-७ जना कर्मचारी पनि कुर्सीमा बसेर घाम ताप्दै थिए । पालिका अध्यक्षसित भेटेर ती कर्मचारीहरुसँग कुराकानी गर्न लम्किए लगतै त्यहाँबाट एकजना कर्मचारी झट्ट उठेर हिँडे । उनी थिए स्वास्थ्यका कर्मचारी सिनियर अ.हे.ब (सिएम) छैठौं तह महेश कुमार साह । उनी उठेर हिड्नुको कारण थियो प्रश्नको डर ।९ महिना यता हामी ४-५ पटक बटेश्वर गाउँपालिका कार्यालय पुग्दा उनी कार्यालय परिसरमा कहिले कुर्सीमा बसेर गफ चुटेको भेटिन्छन् भने कहिले एक्लै बसेर मोबाइल खेलाएको । उनी खटाइयोको स्थानमा नगई गाउँपालिका कार्यालयमा बसेरै तलब खाइरहेका छन् । आठ महिनाअघि प्रश्न तेर्साउँदा उनले भनेका थिए ‘मलाई पायक परेको ठाउँबाट बिकट ठाउँमा सरुवा गर्यो । त्यसैले म कार्यालयमै हाजिरी भइरहेको छु ।उपयुक्त ठाउँमा जिम्मेबारी दिएपछि काममा जान्छु’ ।
स्वास्थ्यकर्मी साह ११ महिना अघि बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर स्वास्थ्यचौकीमा कार्यरत्त थिए । त्यहाँ कार्यरत्त कर्मचारीसंग उनको विवाद परिरहन्थ्यो । कर्मचारीहरु उनलाई सरुवा गरिदिनुस् भनेर पालिकामै आएर धर्ना दिन्थे । गत चैत महिनामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीले उनलाई वडा नं. २ भुचक्रपुर स्वास्थ्यचोकीमा सरुवा गरिदिए । बिकट ठाउँमा आफ्नो सरुवा गर्यो भनेर उनी त्यहाँ हाजिरी भएनन् । त्यसयता स्वास्थ्यकर्मी साह गाउँपालिका कार्यालयमा आएर हाजिर गर्छन्, गफ चुट्न् र घर फर्कन्छन् । यो उनको दैनिकी हो । साहको घरबाट बटेश्वर गाउँपालिका कार्यालय झण्डै १५ किलो मिटर छ । र उनको सरुवा भएको वडा नं. २ हेल्थपोस्ट पालिका कार्यालयबाट झण्डै डेढ किलोमिटरको दुरीमा । जहाँ पुग्न सहज बाटो छ । मोटरसाइकलले ३।४ मिनेटमै पुग्न सकिन्छ । तर १५ किलोमिटर दैनिक मोटरसाइकल चलाएर कार्यालयमा हाजिर भएर समय बिताउने स्वास्थ्यकर्मी साह सरुवा भएको ठाउँमा नजाने हठ छाडेका छैनन् ।
पालिकाले यति अटेर कर्मचारीलाई नत कार्यालयमा जिम्मेबारीमा खटायो, नत सरुवा भएको ठाउँ वा अन्य ठाउँमा व्यवस्थापन गर्न सके । दैनिक कार्यालय आउने, गफ चुट्ने र फर्किने स्वास्थ्यकर्मी साहले सहजै अन्य कार्मचारी जस्तै तलब पनि खाने गरेका छन् । यसले उनलाई कामको लागि मतलब पनि छैन ।
पालिका परिसरमै वडा नं. ४ को स्वास्थ्यचौकी छ । तर उनी त्यहाँ पनि जाँदैनन् । दैनिकको उनको गफ चुटाइ र टाइमपास गर्ने बानीले अन्य कर्मचारीहरु पनि वाक्क दिक्क छन् ।‘कम्तिमा दर्ता चलानीको काम गरिदिँदा पनि अन्य कर्मचारीलाई सहज हुन्थ्यो वा यही हेल्थपोस्टमा केही समय दिँदाहुन्थ्यो । त्यो पनि छैन । मात्र गफ चुट्छन् । आउँछन् जान्छन्’ कार्यालयका कर्मचारीहरु भन्छन् ‘११ महिनादेखि बसेर कसरी बसेर टाइमपास गर्न सकेका होलान् खै ?’
स्वास्थ्यकर्मी साहलाई केही गर्न वा भन्न नसकेर नवनिर्वाचित पालिका अध्यक्ष रामअशिष महतो र प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माले पनि मतलब गरेका छैनन् । आफू कुनै जिम्मेबारीमा नभएपनि हाकिमले अह्राएको काम गर्ने गरेको स्वास्थ्यकर्मी साह दावी गर्छन् ।
पालिका अध्यक्ष महतोले स्वास्थ्यकर्मीको रबैयादेखेर आफू पनि दिक्क भएको बताउँ छन् । ‘म निर्वाचित भएर आएदेखि उनलाई यतैउतै देख्छु । कुनै काम गर्दैनन् । मैले दुई÷३ महिना अघि नै उनलाई भनेको थिए । तपाई कहाँ जानु हुन्छ जानुस् । तर, यसरी बसेर टाइमपास नगर्नुस्’ पालिका अध्यक्ष महतोले भने ‘प्रशासकीय अधिकृतलाई पनि उनलाई कतै व्यवस्थान गर्न भनेको छु । अब प्रशासकीय अधिकृत आएपछि उनलाई चाँडै केही जिम्मेबारी वा व्यवस्थापन गर्न भन्छु ।’
प्रमुख प्रशासकीय अधिकृत शर्माले उनलाई अब चाँडै पालिका कार्यालयकै पोषण शाखाको जिम्मेबारी तोकिने बताए । शर्मा यस पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा आएको पाँच महिना भइसकेको छ ।
तत्कालिन प्रशासकीय अधिकृत रामजी जोसीमाथि गत साउन १६ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बेला फर्निचर खरिदमा व्यापाक अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेपछि निलम्बित भएका थिए । त्यसपछि शर्मा हाजिर भएका थिए ।
Sponsored
११ महिनादेखि कार्यालयमा बसेर तलब खाने कर्मचारीको सूचीमा साह मात्र छैनन्, यसअघि पनि एक करारका कर्मचारीलाई गोप्य भर्ना गरी हाजिरी गराएर ८ महिनाको तलब खुवाएको खुलेको छ । तत्कालिन प्रशासकीय अधिकृत जोसीले गोप्य सेटिंगका योजना काम गर्न करारका एक इन्जिनियर सत्यपाल शौरभ कुशवाहालाई भर्ना गरी तीनपटबक गरी आठ महिनाको तलब खुवाएको हो ।
रौतहट घर भएका कुशवाहा कार्यालयमा कहिल्यै आएनन् । तर उनलाई प्रशासकीय अधिकृत र लेखा अधिकृत सुमन पुरीले तीनतीन पटक एकैएकै दिनमा महिना दुई महिना–तीन महिनाको फर्जी हाजिरी गराएर तलब खुवाएका छन् ।
तत्कालिन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा इन्जिनियर कुशवाहालाई २२ असोज २०७८ मा सेवा करारमा राखेका थिए । अन्य कर्मचारीले सुइको पाएका थिएनन् । तेश्रो पटक २२ असारमा उनलाई एकैपटक तीन महिनाको फर्जी हाजिरी खडा गरेर तलब खुवाएपछि कुरा बाहिरीएको थियो । लेखाअधिकृत पुरीले कार्यालयमा नआएपनि फिल्डमा काम गरेको आधारमा तलब खुवाएको स्वीकारेका छन् ।
कहिल्यै नदेखेका कर्मचारीको तलब हाजिरी गराएर खुवाएको देखेपछि पालिका अध्यक्ष महतो पनि चकित भएका छन् । यो घटना सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ महिनामा कार्यालयलाई पत्र पठाउँदै १५ दिन भित्र तलब खाएका करारका इन्जिनियर कुशवाहाको हाजिरी विवरण प्रतिलिपी, तलब बुझेको विवरण र फिल्डमा खटाएको भए आदेश पत्र पेश गर्न भनेको थियो । पालिकाले त्यही फर्जी हाजिरी र आदेश पत्र १३ असोज २०७९ मा अख्तियारमा पठाएको कर्मचारी श्रोतले जनाएको छ । सो पत्रमा इन्जिनियर कुशवाहालाई तीनपटक गरी ८ महिनाको तलब खुवाएको छ । ११ माघ २०७८ मा पुसदेखि माघ महिनासम्मको चार महिनाको तलब एकैपटक उनलाई खुवाइएको थियो । दोश्रो पटक माघ र फागुन महिनाको र तेश्रो पटक वैशाखदेखि असार महिनासेप्य रुपमा पालिकामा लेखाअधिकृत पुरीको संलग्नतामा गोप्य रुपमा अन्य पनि आर्थिक अनियमितता भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । उनी चारवर्षदेखि बटेश्वर गाउँपालिका कार्यालयमा कार्यरत्त छन् । यस अघिका तत्कालिन गाउँपालिका अध्यक्ष डम्बर राउत आठलाख रकम घुससहित अख्तियारको फन्दामा परेका थिए । उनी पहुँचको भरमा अख्तियारबाट उम्किन सफल भएका छन् भने झण्डै २ वर्ष जिम्मेबारीमा बसेका तत्कालिन प्रशासकीय अधिकृत जोसी पनि भ्रष्टाचार मुद्दामा परेर निलम्बनमा परिसकेका छन् ।