जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा खोइँछ भराई सुरु
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज (आइतबार) बिहानदेखि खोइँछ भराई सुरु भएको छ ।
राजा जनककी कुल देवी भनिएकी राजदेवी मन्दिरमा आज बिहानैदेखि खोइछ भराई सुरु भएको महावीर युवा कमिटीले जनाएको छ । सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गर्नेगर्दछन् ।
यस्तै प्रसाद (लड्डु ) आज मध्य रातिदेखि चढाउन सुरु भई भोली दिउँसोसम्म समाप्त हुने जनाइएको छ ।
बली प्रदान कार्यक्रमको तयारीको लागि भोली सोमबार अष्ठमी तिथिको १२ बजे दिउँसोसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिने भएको छ ।
आज बिहान ८ बजे माता राजदेवीको बेलतोरी कार्यक्रम रहेको कमिटिका कोषाध्यक्ष विकाश कुमार रायले जानकारी दिए । आजै साँझ ७ बजे राजदेवीको भव्य श्रृँगार कार्यक्रम राखिएको जनाइएको छ ।
Sponsored
राजदेवीमा बुधबार दशमीको दिन महाप्रसाद कार्यक्रम राख्दै आएको छ । यस्तै दशमी अर्थात विजया दशमीको दिन रावण वध कार्यक्रम राखिदै आएको छ ।
यसपाली पनि बुधबार गँगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम राखिने कोषाध्यक्ष रायले जानकारी दिए ।
गुठी सँस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ ।
सँस्थानले खसी बोकाको रसिद काटने कार्य सुरु गरेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाएको हो ।
राजदेवीमा प्रत्येक वर्ष हजारौँको सँख्यामा बोकाबली हुँदै आएको छ ।