उपेन्द्र यादव संविधान दिवस मनाउने, महन्थ कालो दिवस
टुडेपाटी–
काठमाडौँ, असोज ३ गते ।
संविधान दिवसको दिन मधेशवादी दलहरुले छुट्टा छुट्टै दिवस मनाइरहेका छन् ।
संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संविधान संशोधनको माग गरेका छन् । उनले संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय रहेको र संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्ने बताए । त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी रहने उनले भनेका छन् ।
उता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आजको दिनलाई कालो दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।
Sponsored