सर्लाहीमा मर्निङवाकमा गएका रायमाझीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।
सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–१० नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करबाट हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो ।
मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले उनलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए । उनका अनुसार रायमाझी मर्निङवाकका लागि आज बिहान ४ बजे रोडमा निस्किएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको र ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ताम्राकारले बताए । यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored