सप्तरीका २ नगरपालिकासहित १६ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा
टुडेपाटी–
काठमाडौँ, भदौ १८ गते ।
सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित तीन जिल्लाका १६ वटा वडालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले गत साउन १७ मा सप्तकोसी नदीमा आएको भेल/बाढीबाट प्रभावित उदयपुर, सुनसरी र सप्तरीका ४ वटा नगरपालिकाका १६ वडालाई २०७९ पुस मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा उपदफा १ मा ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ’ भनिएको छ ।
गृहले सोही दफा प्रयोग गर्दै उदयपुर जिल्ला बेलका नगरपालिकाका १ २, ३, ८ र ९ वडा, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ तथा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा सोही जिल्लाको कञ्चनरुप नगरपालिकाका १, २, ४, ५, ६ र १० नम्बर वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहले शुक्रवार विपद् संकटग्रस्त क्षेत्र घोषणाको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।
Sponsored
विपद् संकटग्रस्त क्षेज्ञ घोषणासँगै यी स्थानबाट सरकारले आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी कार्यालय, निजी संघसंस्था, शिक्षण संस्थालगायतलाई केही अवधिका लागि बन्द गर्न सक्छ ।