मधेश प्रदेश : इन्डियन ब्राण्डको चामलको बोरामा कमसल चामल राखेर बेच्ने भारतीय नागरिक पक्राउ
टुडेपाटी–
रौतहट, भदौ १५ गते ।
इन्डियन ब्राण्डको चामलको बोरामा कमसल चामल राखेर बेच्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
रौतहटको गौर नगरपालिका–१ रामजानकी धर्मशालानजिकै चामल पसल गरी बस्ने भारतको बिहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
इन्डियन ब्रान्डको बोरामा स्थानीय कमसल जातको चामल प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको डीएसपी सुनिल मल्लले जानकारी दिए।
इन्डियन ब्रान्डेड बोरामा कमसल चामल भरिरहेको अवस्थामा गृप्तालाई पक्राउ गरिएको डीएसपी मल्लले भने ।
Sponsored
प्रहरीले गोदामबाट प्याकिङ गर्न ठिक्क पारिएको खुला चामल ५० बोरा, प्याकिङ गरिएको चामल २९२ बोरा, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद गरेका हो ।
प्रहरीले गुप्ताले सञ्चालन गरिरहेको चामल पसल, गोदाम सबैमा सिलबन्दी गरी ताला लगाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।