सप्तरीका यी दुई बस्ती स्वच्छ एवं नमूना बन्दै
शुभ नारायण यादव-
सप्तरी, पुस १० गते ।
सप्तरीको खडक नगरपालीका-४ अन्तर्गतको करमनिया बस्ती एवं वडा नम्बर ९ को बज्राहिगुठी बस्ती अब नमुना र सफा बस्ती बन्ने भएको छ ।
एसएनभी नेपालको सहयोग एवं खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सञ्चालित वास एसडिजी कार्यक्रम अन्तर्गत सप्तरीको खडक नगरपालिकाको वडा नं ४ अन्र्तगतको करमनिया बस्ती एवं वडा नं ९ को बज्राहिगुठी बस्तीलाई सफा तथा स्वच्छ समुदायका लागि पुर्ण सरसफाइका सुचकहरु पुरा गरी सकेकोले आज नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिद्धारा अनुगमन गरिएपछि उक्त बस्ती नमुना घाेषणाा गर्ने भएको हाे ।
खडक नगरपालिकाका नगर उपप्रमुख यासमिन सुल्तानको नेतृत्वमा रहेको उक्त अनुगमन समितिमा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त दास, सरसफाइ तथा स्वास्थ्य फोकल पर्सन जयकान्त पण्डित, महिला शाखा प्रमुख अनिता साह, शिक्षा शाखा प्रमुख विरेन्द्र यादव, वडा सदस्य गौरी चौधरी, एसएनभी नेपालका कृष्ण जीसी, सबल नेपालका अध्यक्ष जुना गिरी वडाध्यक्ष गंगा प्रसाद चौधरी लगायतका व्यक्तिहरु रहेका थिए ।
यसरी दुवै बस्तीमा गरिएको अनुगमन पश्चात दुवै वस्ती सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्न योग्य भएकोले घोषणाको अनुमति समेत प्रदान गरिएको छ । त्यस्तै विगत ९ महिना अघि सबल नेपालले उक्त बस्तिमा पुर्ण सरसफाइ अभियान सन्चालनमा ल्याएपछि त्यहाँ महिलाहरुले सरसफाइतर्फ पूर्णरुपमा उन्मुख बनेकाे स्थानीय महिला बताउँछिन् ।
यसअघि अाफुहरुले सरसफाइमा ध्यान नदिएपनि उक्त कार्यक्रम सञ्चालनमा अाएपछि अाफुहरु पूर्ण सरसफाइ उन्मुख बस्ती अभियानमा लागेकाे स्थानीय देवकुमारी चौधरीले बताइन् ।
Sponsored