बारामा बिजुलीको तार सर्ट हुँदा तीनवटा पसलमा आगलागी, झण्डै अढाइ लाखको क्षति
टुडेपाटी-
बारा, असोज ११ गते ।
बाराको महागढीमाई नगरपलिका-१ बरियारपुर बजारमा आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।
सोमबार राति उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा उक्त क्षति भएको हो ।
आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी एक लाख पाँच हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको उनले बताए ।
Sponsored