‘लकडाउन’ अवधिमै रौतहटमा एक किशोरी बलात्कृत
टुडेपाटी-
रौतहट, चैत १५ गते ।
रौतहटमा लकडाउनको अवधिमै एक किशोरी बलात्कृत भएकी छन् । रौतहटको कटहरिया नगरपालिका ७ बगहीगाँउस्थित एक १७ वर्षीया किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप लागेको छ ।
उनले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउँसै ढोका थुनेर बलात्कार गरेका थिए ।
बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको जानकारी दिए । पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
Sponsored
बलात्कार गरेको घटनाबारे पीडितले आफ्ना बाबु आमालाई भने लगत्तै साह फरार भएका छन् ।