TodayPati

ज्यनमारा रामजानकी हस्पिटलको अर्को ठगी धन्धा : सीपाइपमा उपचार, तर भेन्टिलेटरको चार्ज

टुडेपाटी

जनकपुरधाम,जेठ २८ गते ।

कोरोनाको जस्तै लक्षण देखिएर स्वास्थ्य अवस्था खराब भएपछि सिरहाको कर्जन्हा नगरपालिका-१ रतनपुरकी ६८ वर्षीया गंगामाया विश्वकर्मा जेठ ११ गते जनकपुरको रामजानकी हस्पिलमा भर्ना भइन् । तुरुन्तै उनलाई भेन्टिलेटरमा राखियो।

Sponsored

अस्पताल प्रशासनले भेन्टिलेटरको दैनिक शुल्क ५५ हजार रुपैयाँ लाग्ने जानकारी गरायो। गंगामायाका छोरा पदमले अन्य हस्पिटलमा भेन्टिलेटर खाली छ की भनेर खोजी सुरु गरे। तर भनेको बेला कतै भेन्टिलेटर भेटेनन्। कमजोर आर्थिक अवस्थाका पदमले आमालाई बचाउन रामजानकी अस्पतालकै भेन्टिलेटरमा भए पनि राख्ने निधो गरे।

केही दिनपछि गंगामायालाई कोरोना पुष्टि भयो । अस्पतालले चर्को शुल्क लिए पनि उपचारमा वेवास्ता गर्यो। गांगामायाको स्वास्थ्य अवस्था सुधार हुनुको साटो बिग्रिदै गयो । छोरा पदम आमाको उपचारको लागि ऋण सापटी खोज्नतिर लागे। अस्पतालको बिल ढ्दै गयो। ६ दिन लगाएर पदमले अस्पतालाई तिर्ने पैसाको जोहो गरे। उपचारमा भएको वेवास्ता देखेका पदमलाई आमा यहाँ बाँच्नु हुन्न भन्ने लाग्न थाल्यो। जेठ १७ गते उनले आमालाई त्यहाँबाट निकाले।

‘अन्यत्र कतै बेड खाली नहुँदा बाध्य भएर रामजानकी हस्पिटलमा आमालाई भर्ना गरेँ। अर्को दिन पैसा बुझाएर सस्तो शुल्क भएको अस्पतालको भेन्टिलेटरमा सार्ने बिचार थियो,’ पदमले भने, ‘तर, गरिबीको कारण ऋण सापटी खोज्दाखोज्दै ६ दिन बित्यो। आमाको स्वास्थ्यमा सुधार भएन। तर, मैले अस्पताललाई ३ लाख २० हजार र अस्पतालकै फार्मेसीमा ४४ हजार रुपैयाँ बुझाएँ।’

Sponsored

 अस्पतालले दिएको बिलमा ३५ सयका दरले ८ वटा पीपीईको शुल्क पनि जोडिएको थियो। त्यो देखेपछि पदम झस्किए । उनले चिकित्सकले मागेको बेला बाहिरबाटै पीपीई किनेर ल्याएका थिए।

‘हिसाब गर्दा हस्पिटलको २ लाख ९० हजार, फार्मेसीको छुट्टै ६२ हजार भएको भनियो। जसमा मैले लिँदै नलिएको ८ वटा पीपीईको पनि ३५ सयको दरले शुल्क जोडिएको थियो,’ पदमले भने, ‘अस्पतालको फार्मेसीमा एउटा पिपिइको ३५ सय पर्दो रहेछ। मैले चिकित्सकले मागेको बेला बाहिरको पसलबाट १५ सयमा किनेर ल्याउँथेँ। तर, अस्पतालले दिएको बिलमा मैले लिँदै नलिएको पिपिइको पनि शुल्क जोडिएको थियो।’

आफूले बाहिरबाट १७ हजार जतिको औषधि किनेको उनले बताए। पदमले अस्पतालको फार्मेसीबाट पिपिइ नलगेको गुनासो गरेपछि ५ वटा पिपिइको शुल्क घटाइयो। केहि साथीबाट भनसुन गराएपछि अस्पतालले उपचार शुल्कबाट ४० हजार जति छुट गर्यो । तर ६ दिन अस्पतालमा बसेका उनीसँग ७ दिनको रकम जोडेर लिइयो। छुट गरेर पनि अस्पतालले २ लाख ८० हजार, फार्मेसीले ४४ हजार रुपैयाँ असुल गर्यो।

गंगामायाको उपचार बिल

बिरामीलाई अक्सिजन मात्रै दिएर उपचार, तर भेन्टिलेटरको चार्ज

आमालाई भेन्टिलेटरमा भनेर अक्सिजन (सीपाइप) मात्रै दिएर राखिएको उनको आरोप छ। ‘आमालाई डिस्चार्ज गरेर अन्यत्र लग्ने दिन एकजना स्वास्थ्यकर्मी बहिनी आएकी थिइन्। बैनी भित्र पसेर हेर्दा आमालाई सीपाइपमा राखिएको थियो,’ पदमले भने, ‘म त समान्य लेखपढ गरेको मान्छे । बहिनीले भनेपछि बल्ल बुझेँ, आमालाई भेन्टिलेटरमा राखिएको रहेनछ। त्यसैले होला आमाको स्वास्थ्यमा सुधार भएन।’

उनले रामजानकी अस्पतालले सीपाइपमा उपचार गरेर भेन्टिलेटरको नाममा चर्को शुल्क अशुलेर गरिबलाई चुस्ने गरेको आरोप लागए। ‘यो त हस्पिटल होइन, बिरामीको ज्यान मार्ने र लुटपाट गर्ने थलो हो। गुण्डागर्दी गरेर बिरामीलाई मार्छन्, आफन्तलाई लुट्छन् । प्रशासनले यस्तो हस्पिटललाई किन बन्द नगरेको?,’ प्रश्न गर्दै उनले भने, ‘म जस्ता कयौं गरिब दैनिक त्यहाँ लुटिन्छन् । ऋण काढेर आमाको उपचारको पैसा तिरेँ। जुन ऋण कमाएर तीर्न मलाई वषौं लाग्छ । आमालाई पनि बचाउन सकिनँ।’

रामजानकी हस्पिटलमा आमाको अवस्था बिग्रिसकेको थियो। १८ गते जानकी हेल्थकेयरको भेन्टिलेटरमा उपचारको क्रममा आमाको मृत्यु भएको छोरा पदमले गुनासो गरे।

यता रामजानकी हस्पिटलका संचालक गणेश साहले भने निजी हस्पिटल संघले निर्धारण गरेकै दररेट अनुसार गंगामाया विकको उपचार शुल्क लिएको दावी गरे । उनले भेन्टिलेटरमै राखेर गंगामायाको उपचार गरिएको दाबी गर्दै सीपाइमा नराखिएको बताए । ‘गंगामायाको उपचार भेन्टिलेटरमै भएको छ । यहाँबाट राम्रै अवस्थामा डिस्चार्ज हुनु भएको थियो । उहाँका आफन्तले निराधार आरोप लगाइरहेका छन्’ संचालक साहले भने।

समयमा अक्सिजन नदिँदा मृत्यु

सामान्य रुघाखोकी र ज्वारोसँगै श्वासप्रश्वासमा समस्या भएपछि जेठ ११ गते धनुषाको हंशपुर नगरपालिका- ७ नौवाखोर पर्साहीका ४२ वर्षीय प्रमोद मण्डल रामजानकी हस्पिटलकै आइसोलेशनमा भर्ना भए । उनलाई सीपाइपमा राखेर उपचार सुरु गरियो। बिरामीलाई भर्ना गर्दा नै ५० हजार जम्मा गर्न लगाइयो।

छोरा प्रविणले दैनिक ५० हजारको दरले अस्पतालमा रकम जम्मा गर्दै गए। जेठ २१ गते साँझ मण्डलको मृत्यु भयो। उनी अक्सिजन नपाएर छटपटाइरहेका थिए। कोहि पनि अक्सिजन दिन वार्डमा नआएपछि बुवाको मृत्यु भएको प्रविणले बताए।

मण्डलको मृत्युपछि आफन्तजनले उपचारमा लापरबाही भएको भन्दै बिरोध गरे। अस्पतालमा जडान भएको सीसीटिभी फुटेज देखाउन भने। तर अस्पताल प्रशासनले सीसीटिभी फुटेज देखाउन मानेन् । अस्पताल श्रोतका अनुसार अक्सिजन समयमै नदिँदा नै मण्डलको मृत्यु भएको हो।

मृतकका छोरा प्रविनका अनुसार अक्सिजन सकिएपनि चिकित्सक समयमा आउँदैनथे। ‘सास फेर्न गाहो हुँदा अक्सिजन नपाएर बुवाको मृत्यु भयो,’ प्रविणले गुनासो गरे।

बुबाको उपचार खर्च बापत औषधि शुल्क बाहेक अस्पताललाई मात्रै ११ दिनको साढे ३ लाख रुपैयाँ तिरेको प्रविणले बताए। फार्मेसीले औषधिको २० हजार रुपैयाँ एकमुस्ट लिएको छ। अस्पताल बाहिरबाट ल्याएको औषधिसमेत जोडेर अस्पतालले दैनिक ४० हजार रुपैयाँ लिएको उनको गुनासो छ।

 प्रविणको गुनासो अस्पताल संचालक साहलाई जानकारी गराउँदा उनले आफुलाई यो विषयमा केही थाहा नभएको प्रतिक्रिया दिए। उनले अस्पताल प्रशासनका विकास साहसँग कुरा गर्न भने । तर विकास साहले भने फोन उठाएनन्।

निजी हस्पिटल संघले तोकेको भन्दा दोब्बर बढी चार्ज

दोस्रो चरणको कोरोना महामारीमा बिरामीलाई शुलभ शुल्कमा उपचार गर्ने जनकपुर निजी हस्पिटल संघले निर्णय गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलको समन्वयमा वैशाख २२ गते बसेको हस्पिटल संघको बैठकले सामान्य, मध्यम र गम्भीर बिरामी गरी तीन क्याटोगोरी छुट्याएर शुल्क निर्धारण गरेको छ।

निजी हस्पिटल संघले सामान्य संक्रमित बिरामीको बढीमा दैनिक उपचार शुल्क १२ हजार, अक्सिजनमा उपचार गर्नुपर्ने मध्यम बिरामीको २० हजार र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने सिकिस्त संक्रमितको दैनिक २५ हजार रुपैयाँ मात्रै लिएर उपचार गर्ने निर्णय गरेको छ।

रामजानकी हस्पिटलका सञ्चालक गणेश साह हस्पिटल संघले निर्धारण गरेको शुल्कमै उपचार गर्ने गरिएको दावी गर्छन् । तर सीपाइप लगाएरउपचार गर्दा ३५ हजार भन्दा धेरै, भेन्टिलेटरमा ५५ हजार रुपैयाँसम्म दैनिक उपचार शुल्क अशुल गर्ने गरिएको छ। त्यसमा पनि भेन्टिलेटरमा भनेर राखिएका संक्रमितलाई सीपाइप मात्रै लगाएर उपचार गर्ने गरेको आरोप बिरामीका आफन्तले लगाएका छन्। कतिपय बिरामीका आफन्तले भने अस्पतालले बिल समेत नदिने गरेको गुनासो गर्ने गरेका छन्।

यसअघि निजी हस्पिटल संघ जनकपुरले वीरगञ्जका अस्पताल भन्दा २० प्रतिशत कम शुल्कमा संक्रमितको उपचार गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलासँग गरेका थिए। तर, अस्पतालहरुले भने मनपरी ढंगले शुल्क असुल गर्न छाडेका छैनन्। ‘सरकारले नै अस्पतालहरुलाई दररेट लिस्ट सार्वजनिक गर्न निर्देशन दिएको छ,’ प्रजिअ बास्तोलाले भने, ‘अब सरकारी निर्देशन अनुसार शुल्कको दररेट लागू भए नभएको अनुगमन गर्छौं। बढी शुल्क लिएको पाइए कारबाही हुनेछ।’

पटक पटक घटना हुँदा पैसा दिएर ढाकछोप, हुँदैन कारबाही

गणेश साहले संचालक रहेको रामजानकी हस्पिटलले कोरोना महामारीमा झनै लुट मच्चाएको छ। अस्पतालले गर्ने उपचारको कुनै दररेट छैन। अस्पताल प्रशासनले संक्रमितको उपचारको नाममा मनपरी शुल्क असुल्छ। एकदिनको भेन्टिलेटर चार्ज ५५ हजार, अक्सिजनमा उपचार गर्दा दैनिक ३५ हजार भन्दा धेरै शुल्क अशुल्ने गरेको बिरामीका आफन्तहरुले गुनासो गर्दै आएका छन्।

कोरोना महामारीअघि पनि यो हस्पिटल निरन्तर विवादित बन्दै आएको थियो। राजनीतिक दलका नेता र प्रहरी प्रशासनको आडमा हस्पिटलले लापरवाही गर्ने गरेको सर्वसाधारणको गुनासो छ। बढी शुल्क अशुल्नकै लागि आवश्यक्ता भन्दा बढी औषधि भिडाउने, औषधिको शुल्क चर्को लिने, बाहिर रेफर गर्नुपर्ने खालका बिरामीलाई जबर्जस्ती अस्पतालमै राख्ने जस्ता काम अस्पतालले गर्दै आएको छ।

गएको फागुन २१ गते राति मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भइ उपचारको लागि रामजानकी हस्पिटलमा भर्ना भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- १० गोपालपुरका २४ वर्षीय युवक सुदिप दास तत्माको ज्यान गयो।

गम्भीर घाइते सुदिपको उपचार त्यहाँ सम्भव थिएन। तर, ‘हामी यहीँ उपचार गरेर ठिक पार्छौ’ भन्दै भर्ना गरियो। बिहान मृत्यु भइसकेपछि आफन्तबाट पैसा असुलेर अवस्था सिकिस्त रहेको भन्दै शवलाई उपचारको लागि बाहिर लैजान भनिएको थियो।

यस्तै २२ साउन २०७७ मा सुत्केरी गराउन भर्ना भएकी महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोलाई छुट्टै ग्रुपको रगत चढाउँदा मृत्यु भएको थियो। शल्यक्रिया गरी छोरी जन्माएकी गंगादेवीलाइ ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा मृत्यु भएपछि अस्पतालले ५ लाख रुपैयाँ मृतक परिवारलाई दिएर घटना ढाकछोप गरेको थियो।

सामान्य पेट दुख्दा १५ साउन २०७५ मा यस हस्पिटलमा पुगेका धनुषाको बटेश्वर गाउँपालिका- ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको आवश्यक्ता भन्दा बढी औषधि प्रयोग गर्दा मृत्यु भएको थियो। उपचारमा लापरबाही गरेर बिरामीको ज्यान लिएको भन्दै आफन्तले बिरोध गरेपछि अस्पताल प्रशासनले ५ लाख रुपैयाँ दिएर लफडा सल्ट्याइ ढाकछोप गरेको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *