कोरोना त्रासले सुनसान हुँदै जनकपुर
टुडेपाटी
जनकपुरधाम, चैत १० गते ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासका कारण जनकपुर सुनसान हुँदै गएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने उत्तम विकल्प घरबाहिर ननिस्कनु रहेको बुझेपछि बजार क्षेत्रमा चहलपहल पातलिएको हो ।
बिहानैदेखि भरिभराउ रहने जानकी मन्दिरमा दर्शनार्थीको संख्यामा कमी आएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने जानकी मन्दिरमा न्यून संख्यामा मात्र पूजाअर्चना गर्न पुगिरहेका छन् ।
बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।
जनकपुरधामको बजार क्षेत्रमा न्यून संख्यामा मात्र सवारीसाधन गुडेका छन् । पैदल हिँडडुल गर्नेहरु पनि कमै देखिएका छन् ।
कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी जनकपुरधामका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।