सिरहामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो
टुडेपाटी-
सिरहा, जेठ २० गते ।
सिरहामा निषेधाज्ञा थप १० दिनका लागि थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द (डीसीएमसी) को बुधबार बसेको बैठकले जिल्लामा संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।
गत ३१ वैशाखमा राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि सकिनैलाग्दा फेरि थप गरेर ३१ जेठसम्म पुर्याइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
योसँगै जिल्लामा ३१ वैशाखदेखि सुरु निषेधाज्ञाको समयावधि ठीक १ महिना पुगेको छ । संक्रमित नघट्दा निषेधाज्ञा थप्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।
कोरोनाको दोस्रो लहरमा जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ७८ पुगिसकेको छ । सिरहामा जम्मा संक्रमित संख्या ११ सय ३३ रहेकोेमा सक्रिय संक्रमित संख्या ५ सय ९० छ ।
Sponsored