प्रदेश २ : हाईस्पिड मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, ४ जना घाइते
टुडेपाटी-
पर्सा, चैत २९ गते ।
पर्सामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ठोरी गाउँपालिका-४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल पानीट्याङीमा रिफर गरिएको थियो । न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
शनिबार राति ९ बजेतिर भएको घटनामा ठोरी-४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका-३ नौका टोलाका ४५ वर्षीय राम सिंह चौधरी घाइते भएका छन् ।
मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा छन् भने अन्य घाइतेको न्युरो अस्पतालमै उपचार चलिरहेको छ ।
मधुको टाउको, हात र खुट्टामा, आनन्दको हातमा र सञ्जयको टाउको र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
Sponsored
शनिबार साँझ वीरगञ्ज-ठोरी हुलाकी सडकखण्डअन्र्तगत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साँझ विजयवस्तीबाट जीराभवानी गापा-३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइलले उनीहरुलाई ठक्कर दिएको थियो ।
वीरगञ्ज-ठोरी हुलाकी सडक खण्ड कालोपत्रे भएपछि ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको स्थानीयले बताएका छन् ।
अधिकांश दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको डीएसपी कार्कीले बताए ।