प्रदेश २ : ६ लाखको लोभमा सामूहिक बलात्कारमा फसाउन खोजेकी युवती पक्राउ
टुडेपाटी-
रौतहट, माघ ३ गते ।
रौतहट प्रहरीले अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा २ युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाकी एक १७ वर्षीया युवती २८ पुसमा आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दिएकी थिइन् ।
ओखलढुंगाबाट-काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिगि्रएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको उनले बताएकी थिइन् ।
चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरिन् ।
तर आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएको थिएनन् । प्रहरीलाई युवतीमाथि नै शंका लागेपछि बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर उनले सकिनन् ।
Sponsored
बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।
डीएसपी श्रेष्ठका अनुसार गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले योजना बनाएको रहेछन् ।
जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।