सप्तरीमा मोहम्मद पैगम्बरको १४९१ औं जन्म जयन्ती मनाइयो
शुभनारायण यादव-
सप्तरी, कात्तिक १४ गते ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ती देशभर आज विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । उनको जन्मदिनमा प्रदेश २ मा शुक्रबार सार्वजनिक विदा समेत दिइएको छ ।
पैगम्बरको जन्मजयन्ती प्रदेश २ को सप्तरीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रमको आयोजना गरी मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मनाएका हुन् ।
मोहम्मद डे मनाउन प्रदेश २ सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक विदा नै दिएपछि उत्साह झनै थपिएको मुश्लिम संगठन नेपालका सप्तरी संयोजक मोहम्मद डोमनले बताए । सप्तरी सदरमुकाम राजविराजमा नुरी जामे मस्जिद, अल्जामेतुल इश्लामिया गरिब नवाज, मदरसा इश्लामिया गरिब नवाज, इश्लामपुर पुरनी पोखरी लगायत मुस्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा ¥याली निकालिएको थियो ।
¥यालीमा बालबालिका र यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियतालाई प्रशंसा गरेका छन् ।
यसै अवसरमा जिल्लास्थित मस्जिदहरुमा प्रार्थनासभा तथा विपन्न समुदायमा लत्ताकपडा, फलफुल तथा खाद्यान्न समेत वितरण गरिएको मुश्लिम संगठन नेपालका सप्तरी संयोजक डोमनले जानकारी दिए ।
Sponsored
इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिन उनको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरी मोहम्मद डे मनाउने गरेका छन् ।