बारामा २ दिन अघि भएको झडपबारे ४ सदस्यीय छानबिन समिति गठन
टुडेपाटी-
जनकपुरधाम, कात्तिक १४ गते ।
स्थानीय प्रशासनले बारामा गत बुधबार राति भएको झडपमा अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ । बाराको सुवर्ण गाउँपालिका–२ कबहीगोठमा भएको झडप बारे बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको निर्देशनमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले ४ सदस्य समिति गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यावदको संयोजकत्वमा बारा प्रहरी, बारा सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका गरी चार सदस्यीय छानबिन समिति गठन भएको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार समितिले एक साता भित्रि घटनामाथि छानबिन गरी प्रतिवेदन पेश गर्ने छ ।
इलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरीहरु गत बुधबार राति साढे ८ बजेको समयमा गस्तीमा थिए । त्यसै क्रममा स्थानीयहरु भारतको बिहारबाट आलुको बिउ ल्याइरहेका थिए । सोही क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीले रातिको समयमा तस्करीको समान हो भनी नियन्त्रणमा लिन खोज्दा स्थानीयहरू ईलाका प्रहरी कार्यालय कबहीगोठका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरी आक्रामण गरेपछि सुरक्षाकर्मीले आत्मरक्षाको लागि १२ राउन्ड हवाई फायर गरी अवस्थालाई साम्य पारेको थियो ।
सो झडपमामा परी इलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद गिरी, प्रहरी हवल्दार, प्रहरी जवान र एक जना १३ वर्षिय बालक गम्भीर घाइते भएका थिए । सुवर्ण गाउँपालिका २ बस्ने १३ वर्षिय बालक रन्जनकुमार यादवको टाउकोको बाँया भागमा गोली लागेपछि नारायणी बयोधा अस्पताल गण्डक वीरगञ्जमा उपचारको लागि ल्याइएको थियो । उनको अवस्था अहिले समान्य छ । शल्यक्रिया गरी उनको टाउकोमा हड्डीको टुक्रा पसेकोले निकालिएको र अवस्था सुधारोन्मुख रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
तीन जना सुरक्षाकर्मीको शरीररको विभिन्न भागमा चोटपटक लागि टाँका लगाइएको र जिल्ला प्रहरी कार्यालय बारामै उपचार भइरहेको बाराका एसपी पंगेनीले बताए ।
Sponsored