महागढीमाई नगरपालिकाका मेयर विरुद्ध फेसबुकमा लेखेको भन्दै एक युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।
मेयर विरुद्ध समाजिक संजालमा टिप्पणी गरेको भन्दै एक युवक पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवबारे टिप्पणी गर्दै फेसबुकमा लेखेको भन्दै वडा नं. १ का स्थानीय २७ वर्षीय दिपेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।
मेयर उपेन्द्र यादवले जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा २७ वर्षीय दिपेन्द्रलाई सोमबार पक्राउ गरी कार्बाही प्रक्रिया अघि बढाएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार साइबरअपराध मुद्दा चलाउन काठमाडौं जानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बारामै पक्राउ परेका दिपेन्द्रविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने छ ।
सोमबार नै महागढीमाई नगरपालिका २ बरियारपुरमा नाला निरीक्षणको क्रममा मेयरको प्रतिक्रियाको स्थानीय मुकेश कुशवाहाले भिडियो खिच्न खोज्दा उनका बुबा हरेन्द्र महतोलाई मेयर यादवले नगरपालिकामा समातेर ल्याउन लगाई गाली तथा कुटपिट गरी आधा घण्टा शौचालयमा थुनेका थिए ।